नियन्त्रणमा लिएर ७ घण्टा सोधपुछपछि छुटे सचिव कृष्णहरि पुष्कर
२१ जेठ, काठमाडौँ । सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर करिब ७ घण्टा सोधपुछ गरेपछि रिहा गरेको छ।
स्रोतका अनुसार पुष्करलाई बिहीबार दिउँसो काठमाडौँको कपनस्थित निवासबाट नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लगिएको थियो।
उनलाई दिउँसो ३ बजे नियन्त्रणमा लिएर करिब ७ घण्टापछि राती १० बजे श्रीमतीको जिम्मा लगाएर छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा मुद्दा चलाउनुपर्ने खालको कुनै पर्याप्त आधार नदेखिएपछि उनलाई रिहा गरिएको हो। यद्यपि उनीमाथि कुन कसूर वा विषयमा अनुसन्धान गरिएको थियो भन्नेबारे प्रहरी अधिकारीहरूले औपचारिक रूपमा खुलाएका छैनन्।
‘माथिबाट आएको निर्देशनअनुसार केही विषयमा उहाँसँग सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका थियौं। आवश्यक केरकारपछि उहाँलाई छाडिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो।
मुख्यसचिव पदका आकांक्षीमध्ये मानिएका उनी तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको अवकाशपछि उक्त पदका दाबेदारमध्ये एक थिए। तर सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो।
प्रकाशित मिति : June 4, 2026 at 11:15 pm









