९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

कामु प्रधानन्यायाधीशको परिवारकै सदस्य पनि दीपक भट्टको साझेदार

९ वैशाख, काठमाडौँ । विवादित प्रक्रियाबाट अनुमति पाएका स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको बुहारी निदा दुन मल्लको २० हजार कित्ता सेयर रहेको खुलासा भएको छ । हिमालखबरका लागि ‘लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स’ शीर्षकको खोजी समाचार लेख्नुभएको रमेशकुमारले कामु प्रधानन्यायाधीश मल्लको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा १०/१० हजार कित्ता सेयर रहेको विवरण सार्वजनिक गर्नुभएको छ ।

यो खुलासासँगै सम्भावित भावी प्रधानन्यायाधीशकै पारिवारिक सदस्य विवादित व्यावसायिक समूहसँग साझेदारीमा जोडिएको विषयले न्यायिक निष्पक्षतामाथि समेत गम्भीर प्रश्न उठ्ने देखिएको छ । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएको विचाैलिया दीपक भट्ट समूहसँग सम्बन्धित कम्पनीहरूमा प्रधानन्यायाधीश परिवारकै लगानी देखिएपछि भोलिका दिनमा यिनै समूहसँग सम्बन्धित मुद्दा अदालतमा पुगेमा निष्पक्ष सुनुवाइ हुने वा नहुने भन्ने बहस समेत सुरू भएको छ । न्यायिक प्रणालीमा “हितको द्वन्द्व” (Conflict of Interest) नहुनुपर्ने मूल मान्यता विपरीत यस्तो लगानीले निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने आशंका गरिएको छ।

यस्तो अवस्थामा प्रधानन्यायाधीश परिवारकै सदस्यको लगानी देखिनुले न्यायपालिकाको विश्वसनीयतामाथि प्रत्यक्ष असर पर्ने देखिन्छ। कानुनी रूपमा लगानी स्वतन्त्रता भए पनि निर्णय प्रक्रियामा कुनै पनि प्रकारको प्रभाव नपरोस् भन्ने नै न्यायिक नैतिकताको मूल आधार हो । यस घटनाले नेपालमा नियामक निकाय, निजी क्षेत्र र न्यायपालिकाबीचको सम्बन्ध तथा स्वार्थको द्वन्द्वबारे गम्भीर बहस सुरु गराएको छ। आगामी दिनमा यस विषयमा न्याय परिषद्, सम्बन्धित निकाय र स्वयं न्यायपालिकाले कस्तो धारणा सार्वजनिक गर्छन् भन्ने पनि चासोको विषय बनेको छ ।

सेटिङमा लाइसेन्स, मुख थुन्न सेयर बितरण

न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै २०७९ भदौमा सात लघु बीमा कम्पनी स्थापनाका निम्ति प्रस्ताव मागेको नेपाल बीमा प्राधिकरणले मंसीर ४ को आमनिर्वाचनको मुखैमा लाइसेन्स वितरणको प्रक्रिया थालेर निर्वाचन परिणाम समेत सार्वजनिक भैनसक्दै मंसीर ११ मा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी छानिएको सूचना नै प्रकाशन गरेको थियो । जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्सले लाइसेन्स पाएका थिए ।

राज्यका अन्य सबै संयन्त्र निर्वाचनकेन्द्रित भएको मौका छोपेर हतारोमा लाइसेन्स किन बाँडियो त ? यस्तो प्रश्न गर्ने पत्रकार र कतिपय सञ्चार माध्यम नै यही प्रक्रियामा सहभागी भएर सेयर लिन पुगे । कतिपयले यसमा ‘निश्चित घराना र समूह पोस्ने मिलीभगत’ रहेको आशंका गरेका थिए जुन समयक्रममा प्रमाणित हुँदै समेत गएको देखिन्छ । प्राधिकरणले अनुमति दिएका कम्पनी त्यसका लागानीकर्ताहरू हेर्दा सबै क्षेत्रको मुख बुझो लगाउने गरी सेयर बाँडिएको देखिन्छ । निश्चित घराना र समूहले प्रवर्द्धन गरेका कम्पनीलाई सुनियोजित रूपमै अनुमति दिइएको लघुबीमामा पत्रकारका प्रश्नहरू किन सुनिएन भन्ने कुरा अहिले आएर सार्वजनिक भएको छ। विचाैलिया दीपक भट्टकै योजनामा विधायक, कर्मचारी, न्यायालय र पत्रकारका परिवारका सदस्यहरूसम्म सेयर पुगेको देखिन्छ ।

यिनका लगानीकर्ताको विवरण हेर्दा पछिल्लो समय वित्तीय क्षेत्रका ठूला लाइसेन्स हत्याइरहेको व्यावसायिक घराना शंकर समूह तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट तथा उनीहरू निकट व्यवसायीले मात्र लघु बीमाको अनुमति पाएको खुल्छ जुनकुरा हिमालखबरले रमेशकुमारको खोजमा दुई वर्षअघि नै सार्वजनिक गरेको देखिन्छ । शंकर समूह र इन्फिनिटीले साथै लिएर हिंडिरहेका शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, कुमुद दुगड, मोतीलाल दुगड, लक्की समूह सहितका व्यवसायी बीमाका यी व्यवसायमा पनि साझेदार देखिछन् । शंकर समूहका साहिल र शुलभ अग्रवाल यसका मुख्य खेलाडी देखिन्छन । यिनै खेलाडीमध्येका भट्ट र अग्रवाल अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।

 

प्रकाशित मिति : 10:50