शेखर गोल्छाको पक्राउले पत्रकार नै शोकमा
११ वैशाख, काठमाडौँ । व्यवसायी समेत रहनुभएको हिमालयन रि इन्स्योरेन्सकाका संस्थापक शेखर गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि केही पत्रकारहरू शोकमा देखिएका छन ।
सेयर बजारमा संगठीत अपराध गरेको अभियोगमा धितोपत्र बोर्डले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँको अनुमतिमा पक्राउ गरेपछि पत्रकारहरूले सामाजिक सञ्जालबाट चिन्ता गरेका हुन । केही मिडियाले त समाचारज्य सामग्रीमार्फत नै चिन्ता व्यक्त गरेका छन । समाचारहरूले गुमाइरहेको सन्तुलन र जनविश्वास साथै समाजले पत्रकारहरू व्यापारिकको खल्तीमा लुके भनेर लगाइरहेको आरोपमा बल पुग्नेगरी पत्रकार शोकमा देखिएका हुन ।
आर्थिक पत्रकारहरूको संस्था सेजन र नाफिजका अध्यक्षहरू समेत शेखर पक्राउ गरेर सरकारले गल्ती गरेको निष्कर्षमा देखिनुभएको छ । सेजनका अध्यक्ष भागवत भट्टराईले संस्थाका पूर्व सचिव कृष्ण रिजालको टिप्पणीमा सहमति जनाउँदै पक्राउमा असन्तुष्टि जनाउनुभएको छ भने नाफिजको अध्यक्ष मेनुका कार्कीले आफैँले टिप्पणी सार्वजनिक गर्नुभएको छ ।
अझ रोचक त के छ भने सेजन र नाफिजको नेतृत्व बोल्दै गर्दा इम्सन र इमानको नेतृत्वले यस बारेमा मुख खोलेको देखिदैन । केही पत्रकारहरूले भने पत्रकारिता र पत्रकारले सन्तुलन गुमाउन नहुने भन्दै सुलभ अग्रवाला पक्राउ पर्दा खुशी मनाउने र शेखर गोल्छा पक्राउ पर्दा शोक मनाउने प्रवृति खतरनाक भएको टिप्पणी गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहनुभएको गोल्छाले विचौलिया भनेर चिनिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी सेयर कारोबारमा संग्लन भएर आपराधिक काममा साझेदारी गर्नुभएको थियो ।
धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानले दीपक भट्ट र शेखरसहितका साझेदारले धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित काम गरेको तथ्य फेला पारेको थियो । जालसाजी सेयर कारोबारमा गोल्छा स्वयं संग्लन देखिनुभएको छ । प्रतिवेदनले शेखर गोल्छा, हिमालयन रिइन्स्योरेन्स, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्ससहितलाई कसूर गर्न सघाएकोले कारबाहीका लागि सिफारिस गरेको छ ।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ कार्यान्वयन गर्न गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा ९३० बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोल्छा अध्यक्ष रहेका अवधिमा कम्पनीले करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ सहायक कम्पनी हिमालयन सेक्युरिटिजमा लगानी गर्ने निर्णय गरेको थियो । सोही सहायक कम्पनीमार्फत करिब २ अर्ब २१ करोड ९७ लाख रुपैयाँ कम्पनीकै सञ्चालक दीपक भट्टलाई दोस्रो बजारमा सेयर खरिदका लागि उपलब्ध गराइएको थियो । यसैगरी गोल्छा र उल्लिखित कम्पनीबाट आएको रकमबाट ब्रोकरले भट्टलगायत अरूको नाममा सेयर किनेको अनुसन्धानले देखाएको छ । ब्रोकरले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रचलित कम्पनी कानुन, बीमा सम्बन्धी नियमन र कर्पोरेट गभर्नेन्सका आधारभूत सिद्धान्तअनुसार कुनै पनि संस्थाले आफ्नो कोष यसरी प्रत्यक्ष वा परोक्ष रूपमा कुनै एक व्यक्तिको व्यक्तिगत लगानीमा प्रयोग गर्न दिनु गम्भीर उल्लंघन मानिन्छ ।
तर पत्रकारहरू पनि यस्तो कसुरमा गोल्छा पक्राउ पर्दा शोकमा परेको देखिन्छ । नाफिजको अध्यक्ष मेकुका कार्कीले फेसबुक गोल्छाको पक्राउबारे गरेको टिप्पणीमा भन्नुभएको छ, ‘प्रहरीले उद्योगी शेखर गोल्छालाई पक्राउ गर्दै गर्दा उनी भने सर्बो लुब्रिकेन्टको लगानी र उत्पादनको बारेमा कुरा गर्दै थिए । उनको सामाजिक संजालले त्यहि भन्छ । देशमा उद्यम गर्न सिकाउने औद्योगिक घरानाको व्यक्तिलाई पक्राउ गर्नुले देश कतातिर अघि बढ्दैछ भन्ने संकेत पनि गर्ला । गोल्छा मात्रै नभई ठूला लगानी भएका व्यक्तिहरुलाई पक्राउ गर्दा त्यसको असर कति गर्छ, राज्य र सर्वसाधारणलाई समेतमा प्रभाव पर्छ भन्ने त राज्य सम्हालेकालाई पक्कै थाहा छ नै । सहन नसक्ने गल्ति गरेमा त कसैलाई पनि छोड्नु् हुँदैन । तर देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेका र ठूला करदाताको आत्मबल बढाउने प्रयास होस् । बेरोजगारीको समस्या बढाउन हैन कम गर्नतिर लागौं ।’

यस्तै सेजनका पूर्व सचिव कृष्ण रिजालले वित्तीय अपराध प्रमाणित भएपनि आर्थिक जरिवाना लगाउने व्यवस्था गर्नुपर्ने तर शेखर जस्ता व्यवसायी पक्राउ गर्न नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘रास्वपाको एकल बहुमतमा बनेको वर्तमान सरकारमा खुला बजार र निजी क्षेत्रका हिमायती मानिने अर्थमन्त्री डा. स्वर्णीम वाग्ले छन् । हालै निजी क्षेत्रको प्रतिनिधिमण्डलसँगको भेटमा उनले वित्तीय कसुरमा थुन्ने भन्दा पहिले सुन्ने अनि कसुर प्रमाणित भए आर्थिक जरिवाना गर्ने बताएका थिए । तर, सरकारले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । प्रमाण मेटाउन वा भाग्ने अवस्था नदेखिदा समेत यसरी पक्राउ गर्नु उचित हुन्छ जस्तो लाग्दैन । उनले अनुसन्धानमा सरकारलाई सघाउने, बोलाएको खण्डमा जाने बताएकै थिए । देशको उत्पादन ,रोजगारी र राजस्वमा मात्र नभई सामाजिक उत्तरदायित्वमा समेत महत्वपूर्ण योगदान गरेका गोल्छा जस्ता व्यवसायीलाई थुन्नु (पक्राउ) गर्नुअघि सुन्नुपर्छ, वित्तीय अपराध प्रमाणित भएपनि आर्थिक जरिवाना लगाउने व्यवस्था गर्नु उचित हुन्छ जस्तो लाग्छ ।’

यस्तै सेजनका अध्यक्ष भागवत भट्टराईले रिजालकै टिप्पणीमा सहमति जनाउनुभएको छ । उहाँले विना कुनै टिप्पणी रिजालको पोस्ट फेसबुकमा सेयर गरेर दुःख बाड्नु भएको छ ।
यस्तै विनोद चाैधरीको पूर्व स्वकीय सचिव पत्रकार खगेन्द्र भण्डारीले पनि देश विबार्ने शासक र प्रशासक रहेको भन्दै उनीहरू सुध्रिएको दिन शेखरहरू पनि सुध्रिने भएकाले त्यतै ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘निजी क्षेत्रको हुर्मत लिएर अनि उनिहरुलाई हतोत्साहित पारेर मुलुक बन्दैन । संसारभर लगानीकर्ता (आन्तरिक र बाह्य) लाई प्रोत्साहन गरिन्छ । तब त ती देश बनेका हुन् । यो देश विश्वकै तन्नम मुलुक बन्नुमा कुनै व्यापारीको दोष होइन। यो देश बिगार्ने शासक र प्रशाशक नै हुन् । यिनिहरु सुध्रिएका दिन व्यापारी आफै सुध्रिन्छन नत्र व्यापार भनेकै नाफाका लागि हो । भ्रष्ट शासन प्रणालीमा शुद्ध व्यापारी नखोजौ । जय नेपाल ।’

यस्तै प्रेस युनियनका महासचिव समेत रहनुभएको पत्रकार दिलिप पाैडेलले पनि शेखरको पक्राउले लगानीकर्ता हतोत्साहित भएको टिप्पणी गर्नुभएको छ । उहाँले देश बन्ला जस्तो छ भन्दै व्यंग्यात्मक टिप्पणी समेत गर्नुभएको छ ।

क्लिकमाण्डु डटकमका सञ्चालक समेत रहनुभएको पत्रकार पुष्प दुलालले शेखरमाथिको प्रहरी कारबाही केटाकेटी खेल भएको टिप्पणी गर्नुभएको छ । उहाँले स्टन्डले देश नचल्ने भन्दै देश चलाउने टिप्स समेत सिफारिस गर्दै भन्नुभएको छ, ‘वित्तीय कसूरलाई फौजदारी जस्तो गरी केटाकेटी खेल नखेलौं । धनाड्यलाई यसरी धरपकड़ गरेर ह्यारेसमेन्ट गरी बेइज्जत गर्ने हो भने कसले गर्छ लगानी, लगानीबिना कसरी देश सम्मृद्व बन्छ ? स्टन्डले देश चल्छ र हजुर ? वित्तीय कसूरमा फाइनान्सियल पेनाल्टी लगाऔं, धरपकड बन्द गरौं । मुल प्रश्न: के बाहिर रहँदा शेखरले प्रमाण नष्ट गर्न सक्थे ? यति सामान्य कुराको ख्याल नगरी गरिएको निर्णयले सरकारको आलोकाँचो प्रवृत्ति प्रष्ट पार्छ । हामी कस्तो समाज निर्माण गरिरहेका छौं ?

यस्तै क्यापिटल नेपालले गोल्छामाथि सरकारको कुनियत उदंगो भएको भन्दै समाचारकै माध्यमबाट दुःख प्रकट गरेको छ । उसले ‘दिनभर मिडिया ट्रायल, बेलुका पक्राउः शेखर गोल्छामाथि सरकारको कुनियत उदंगो’ शीर्षकमा आफ्नो दुःख बाँडेको छ ।


यस्तै सेजनाका पूर्व सचिव समेत रहनुभएको पत्रकार शोभित थपलियाले शेखर गोल्छा पक्राउ पर्दा थाहा पाउने पत्रकारले शुलभ अग्रवाल पक्राउ पर्दा किन थाहा पाएनन भनेर प्रश्न गर्नुभएको छ । उहाँले अभियुक्तलाई कानुन बराबर हुनुपर्ने बताउँदै भन्नुभएको छ, ‘शेखर गोल्छा पक्राउ पर्दा सबैलाई थाहा भयो, शुलभ अग्रवाल पक्राउ परेेको कसैलाई थाहा नभएको हो र ? शुलभ पनि उद्योगी हैनन् र ? अभियुक्तलाई कानुन बराबर हो कि जस्तो लाग्छ । सम्भवत राज्यको कानुन कार्यान्वयन गर्न सघाउने निकायले देखिने गरि केही काम गर्छ कि ? थाहा पाउने नपाउने फरक बिषय हो ? कानुन सबैलाई बराबर । प्रक्रिया आफ्नो आफ्नो हुन्छ । सबैले कानुन पालना गराैँ ।’

यस्तै खोज पत्रकार रमेश कुमारले पनि यस सम्बन्धमा टिप्पणी गर्नुभएको छ । उहाँले शेखर र सुलभको तुलना गर्दै ठूला उद्योगी हुन् त्यसैले पक्राउ गर्न हुँदैन भन्ने तर्क गलत भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘शेखर गोल्छा पक्राउबारे – प्रहरीले पक्राउ नगरी अनुसन्धान अघि बढाउन मिल्थ्यो भने पक्राउ अनावश्यक हो । तर, ठूला उद्योगी हुन् त्यसैले पक्राउ गर्न हुँदैन भन्ने तर्क गर्न हुँदैन, कानूनका लागि उद्योगी र आम नागरिक बराबर हुन् । विशेषाधिकार हुनु हुँदैन कसैको पनि । र थप – सुलभ अग्रवाल पक्राउ पर्दा विरोध नगर्ने, शेखर गोल्छा पक्राउमा विरोध गर्ने दोहोरो चरित्र हुन्छ । दुबै वित्तीय अपराधका अभियुक्त हुन् – एक जना मुख्य कर्ता, अर्का मतियार – अनुसन्धान प्रतिवेदनका अनुसार । दुबै ठूला उद्योगी पनि हुन् ।’

प्रकाशित मिति : 07:42









