११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

नेपाल टेलिकमले फोरजी सेवा देशव्यापी बनाउनु विकास र प्रविधिमा नयाँ युग प्रारम्भः प्रधानमन्त्री ओली

१५ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले मोबाइलमा उच्च गतिको फोरजी सेवा देशव्यापी बनाएसँगै मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएको बताउनुभएको छ । सो सेवा शुभारम्म समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणबाट मानिसको जीवनमा रुपान्तरण गराउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको विकासले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जानुपर्ने भएपनि अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन, काम समयमा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् र गुणस्तरीय काम नभएर लापर्वाही भएमा कारवाही गर्नुस्, सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जहाँ जनता जान्छन्, त्यहाँ टेलिकमको सेवा पुग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको बताउँदै फोरजी सेवा विस्तार हुनुले यस क्षेत्रमा टेलिकम प्रतिस्पर्धीभन्दा अगाडि रहेको पुनःपुष्टि भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “यो सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड हुनसक्छ । यसले खाली नाफाका लागि मात्रै काम गर्दैन । यो जनताको नासो हो ।”

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वर्तमान सरकारले काम गरेन भन्नेका लागि फोरजी सेवा गतिलो जवाफ हुन सक्ने बताउनुभयो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल ३२ जिल्लाका ५० शहरमा पुगेको यो सेवा क्रमशः मुलुकभर विस्तार हुने जनाउनुभयो ।

प्रकाशित मिति : 22:14