२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

सागका लागि विभिन्न समिति गठन (संयोजक र सदस्यहरूको सूचीसहित)

१० असोज, काठमाडाैँ । नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो ।

समितिअन्तर्गत राष्ट्रिय टोली तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेलस्थल व्यवस्थापनमा राखेपका पूर्वसदस्य–सचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गङ्गाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, स्रोतसाधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणीन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव रहनु भएको छ ।

 

यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा अजयशमशेर जबरा संयोजक र मधुसूदन बस्नेत सचिव, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, अनुगमन, निरीक्षण तथा मूल्याङ्कनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र बज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।

बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ तथा सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकारसमेत दिइएको छ । सागमा समावेश विभिन्न २७ खेलमध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार १०:१९