११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

कांग्रेस महामन्त्री काेइरालासहित नेताहरू सवार हेलिकप्टर ३ पटक आकस्मिक अवतरण

९ असोज, खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो ।

दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताउनुभयो । वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ । आपत्कालीन हेलिकप्टर अवतरण भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

खराब मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कने क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालगायतका नेताको टोली चढेको हेलिकप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ । बुधबार दिउँसो २ः३० बजे हलेसीबाट उडेको हेलिकप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाइटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो ।

हेलिकप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए । कोइराला काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको थियो ।

प्रकाशित मिति : 21:24