१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

चालू आर्थिक वर्षको सुरुवाती महिनामै तीन सय ८७ प्रतिशतले बढ्यो वैदेशिक लगानी

९ असोज, काठमाडाैँ । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्र थियो । केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो ।

नेपालले गत आवमा १३ अर्ब छ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो । सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्रायाउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा ३० खर्ब रुपियाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो ।

राष्ट्र बैङ्कका अनुसार साउनमा पर्यटकबाट हुने आय, विपे्रषणमा पनि वृद्धि भएको छ । गत साउनमा पर्यटकबाट चार अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको यस वर्षको उक्त महिनामा ७.६ प्रतिशत वृद्धि भई आम्दानी चार अर्ब ७१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । विपे्रषणमा भने दुई प्रतिशतको मात्र वृद्धि भएको छ । नेपालले यो साउनमा ७५ अर्ब ४० करोड रुपियाँ विप्रेषण प्राप्त गरेको छ । अघिल्लो साउनमा यस्तो रकम ७३ अर्ब ९५ करोड रुपियाँ थियो ।

विदेशी लगानीसहित विभिन्न शीर्षकमा भएको वृद्धिले मुलुकको शोधनान्तर अवस्था यसपटक छ अर्ब पाँच करोड रुपियाँले बचतमा छ । गत साउनमा यस्तो घाटा २४ अर्ब ७७ करोड रुपियाँले घाटामा थियो । त्यस्तै गत आर्थिक वर्षको अन्त्यमा यस्तो घाटा ६७ अर्ब ४० करोड रुपियाँ पुगेको थियो । स्थिति चालू आवको पहिलो महिनामा छ अर्ब पाँच करोड रुपियाँले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ । चालू खाता घाटा भने नौ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चिति असार मसान्तमा १० खर्ब ३८ अर्ब रुपियाँ रहेकोमा त्यो बढेर १० खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ । यो समाचार विश्वास रेग्मीले आजको गोरखापत्रमा लेखेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार ०७:१५