७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सीमा अपराध रोक्न नेपाल र भारतका प्रहरीको संयुक्त गस्ती सुरु


११ वैशाख, महोत्तरी । महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् ।


लागुऔषध ओसारपसार, मानव तस्करी, भन्सार छली, चोरी लगायतका अपराध नियन्त्रणका लागि संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए ।
संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति गराउनुका साथै तस्करी, भन्सार छलीलगायत कार्यको निगरानी गर्नेछ ।
संयुक्त गस्तीका लागि सोमबार सीमामैे दुवै देशको सुरक्षा निकायबीच छलफल भएको थियो । त्यसमा नेपालका तर्फबाट महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुरेश आले मगर, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक गोपाल यादव सहितका सुरक्षाकर्मी सम्मिलित भएका थिए ।

त्यस्तै, भारतका तर्फबाट एसएसबीका निरीक्षक रामाकान्त पाठक र विहार पुलिस, मधवापुर थानाका प्रभारी राजकुमार यादव थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १८:११