७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त, को हुन कँडेल ?


११ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले कँडेललाई नियुक्त गरेको हो । नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष कँडेल अर्थविद् हुन् ।

को हुन कँडेल

स्थायी समितिमा रहेका नेताहरु मध्ये डा. पुष्प कँडेल मात्र यस अघि कुनै पनि सार्वजनिक नियुक्ति नलिएका नेता हुन् । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी संहाल्दै आएका छन् ।

लेखा आयोगमा दुई कार्यकाल सदस्य एक कार्यकाल सचिव र पार्टीको आठौं र नवौं महाधिवेशनबाट दुई कार्यकाल निर्वाचित अध्यक्ष र स्थायी समितिमा आमन्त्रित सदस्य छन् ।

पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन (बुटवल महाधिवेशन) मा संघीयताको विपक्षमा फरक मत दर्ज गरेर चर्चामा आएका कँडेल केपी ओलीको टीमका थिंकट्यांक हुन् । पार्टीमा नरम स्वभाव र सतहमा देखिनेगरी गुटबन्दीमा नलाग्ने उनी बुटवल माधिवेशन देखि ओलीको खास टीममा रहँदै आएका छन् ।

त्रिविमा व्यवस्थापन संकायका प्राध्यापक उनी ३२ वर्ष प्राध्यापन सेवा गरेका अनुभवी र बौद्धिक नेता हुन् । कर प्रशासनमा विद्यावारिधी गरेका अर्थविद् कँडेल आर्थिक विश्लेषक हुन् । कँडेलले १३ वटा पुस्तक लेखिसकेका छन् ।

धादिङ मलेखुमा जन्मिएका कँडेल विद्यार्थी राजनीति, सम्पर्क मञ्चको संस्थापक हुँदै पार्टी केन्द्रीय कमिटीमा प्रवेश गर्दा नै पार्टीको हिसाव किताव चुस्त राख्नको निम्ति पाँचौं महाधिवेशन पश्चात मदन भण्डारीको प्रस्तावमा २०४९ मा केन्द्रीय लेखा आयोगको सदस्य भएका थिए ।

पार्टी नेतृत्वमा रहेका अर्थविद् कँडेल निष्कलंक, निर्विवादित र परिक्षण नभएका कारण यस पटक पार्टी नेतृत्व र आम कार्यकर्ताले डा. कँडेलको नियुक्तिलाई चासोका साथ हेरेका थिए । कँडेलको नियुक्तसंगै नेकपा एमालेका नेता कार्यकर्ता उपयुक्त स्थानका लागि उपयुक्त पात्र भन्दै उत्साहित भएका छन् ।

सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १३:३७