११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

पूर्व प्रम स्व. गिरिजाप्रसाद कोइरालालाई प्रदान गरिएको मरणोपरान्त पदक खोस्ने सरकारको तयारी

५ असोज, काठमाडाैँ । सरकारले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाई प्रदान गरेको मरणोपरान्त ‘राष्ट्र गौरव’ पदक खारेज गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले स्व. कोइरालासहित १ सय ४२ जनाको पदक खारेज हुन लागेको हो । विभूषित व्यक्ति र तीनका परिवारका सदस्य सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रदान गरेको मानपदवी (तक्मा) रद्द गर्ने तयारी गरेको हो ।

पछिल्लो ९ वर्षमा प्रदान गरिएका १ सय ४२ पदक गृह मन्त्रालयमै बेवारिस रहेको कान्तिपुर दैनिकमा मात्रिका दाहालले समाचार लेखेका छन । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वत: रद्द हुन्छ । मापदण्डअनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) सहित १ सय ४२ जनाकै पदक खोसिनेछ ।

सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६ सय ३४ लाई मानपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन् । गत वर्ष ३ सय ४२ जनालाई मानपदवी प्रदान गरिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन । 

प्रकाशित मिति : 08:26