बामदेव गौतमले कास्की–२ बाट उपचुनाव नलडने
४ असोज, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने भएका छन् । आज बसेको सचिवालय बैठकमा गौतमले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले कास्कीबाट चुनाव उठने कि नउठने भन्ने निर्णय आफै लिन गौतमलाई सुझाएका थिए । गौतमले आजको सचिवालय बैठकमा कास्कीबाट चुनाव नलडने निर्णय लिएकाे बताएका हुन् ।
‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्ने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु,’ बैठकपछि गौतमले भने ।
गाैतमले कास्कीमा चुनाव उठदा पराजय हुने अवस्था देखिएको तथ्य पनि औल्याउँदै गाैतमले भने,‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो ।
त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो,’ गौतमले भने, ‘तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु,’ गौतमले भने ।
गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की-२ मा उपनिर्वाचन हुने भएको हाे ।
प्रकाशित मिति : 20:07









