२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कांग्रेस नेता बहादुरसिंह लामाको कमालः खोला भन्दा अर्कैतिर निर्माण गरे पुल (भिडियोसहित)


४ असोज, नुवाकोट । पुल निर्माणमा यसअघि धेरै अनगिन्ति लापरबाही हुने गरेको सुन्दै र देख्दै आएका छौँ । ठेकेदार र सम्बन्धित निकायको बदमासीका कारण कमसल पुल बन्ने र बनिनसक्दै भत्किएका उदाहरण नेपालमा प्रशस्तै छन् । तर, अहिले देशकै एक महत्वपुर्ण राष्ट्रिय गौरवको आयोजनाका रुपमा मानिएको सडक आयोजना अन्तर्गत नुवाकोट जिल्लामा खोला एकातिर वर्षौँदेखि बगिरहेको छ भने पुल अकैतर्फ निर्माण भएको पाइएको छ । यस्तो अनौठो पुलले अहिले सबैलाई अचम्मित बनाइरहेको छ ।

भारत, नेपाल र चिनको केरुङसम्म जोड्ने नेपालकै छोटो मानिएको अन्तराष्ट्रिय व्यापारिक मार्ग गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक आयोजना अन्तर्गत विदुर नगरपालिकाको गेर्खु खोलामा निर्माण गरिएको पुल निर्माणमा चरम लापरबाही भएपछि यसको चौतर्फी बिरोध भइरहेको छ । संसदको विकास समितिका सदस्य तथा ठेकेदार समेत रहनुभएका सांसद बहादुरसिंह लामाको निर्माण कम्पनी कालिका रसुवा हिमदुङ एण्ड थोकर निर्माण जेभीले यस पुलको जहाँ खोला बग्ने बहाव र धारभन्दा विपरित दिशामा पक्की पुल निर्माण गरेको छ ।

लामाकै गृहजिल्ला मात्रै नभएर आफ्नै घर नजिकैको खोलामा बनेको यस्तो पुललाई लिएर उहाँकै क्षेत्रका स्थानियको समेत विरोध र व्यङग्यको विषय बनिरहेको देखिन्छ । सडक मार्गमा पर्ने गेर्खु खोला पुर्वबाट पश्चिम बगिरहेको छ भने यसै खोलामा बनेको पुल भने उत्तरबाट सिधा दक्षिणतिर फर्काइएको मात्र नभएर अझ यो खोला बग्ने बाटोभन्दा अन्यत्रै बनेको हो ।

 ठेकेदारले यस्तो पुल बनाएपछि यसको अहिले स्थानिय निकाय, जनप्रतिनिधि, यात्रुहरु, स्थानिय नागरिकदेखि साराले चर्को विरोध गरिरहेका छन् । ‘सामान्य भन्दा जनताले पनि यो देख्दा अहिले मान्छे बस्ने घर हो कि गाडी गुड्ने पुल हो ?’, नुवाकोटका हरेक नागरिकले सरकारलाई प्रश्न गरिरहेका छन् । ‘सरकारले पटक–पटक भनिरहेको र भविष्यका लागि सपना देखाइरहेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई अन्तराष्ट्रिय मार्गअन्तर्गत गेर्खु खोलामा बनेको यो एउटा पुलले नै खुलेआम ब्यङ्ग्य गरिरहेको छ’, स्थानिय सञ्जिव थपलियाको टिप्पणी छ ।

२०७२ सालको विनासकारी भुकम्पसँगै बन्द भएको तातोपानी नाकाको विकल्पमा चिन जोड्ने एकमात्र भरपर्दो सडक मार्गको रुपमा सरकारले पहिलो प्राथमिकतामा राखेर यस त्रिदेशीय सडक योजनालाई अघि सारेको थियो ।

दुईवर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ अबौँको लगानीमा निर्माण थालिएको आयोजनाले ४ वर्ष नाघिसक्यो । ‘तर, सडकको अवस्था जताततै अलपत्र छ नै’, यात्रुहरुले सास्ती भोगिरहेको तथ्य पस्किँदै अर्का स्थानिय युवा शंकर थपलियाले भन्नुभयो’–‘निर्माणले पुर्णता नपाउँदै करोडौँ लागतमा बनिरहेका यस्ता पुलसमेत निल्नु न ओकल्नु भनेझैँ प्रयोगमै नआउने खालका बेकामे बन्ने निश्चित छ ।’

समयमै पुल नबन्दा वर्षात्मा बाढीले धेरैपटक अस्थाई कल्भर्ट बगाउँदा नुवाकोट, रसुवा र केरुङ आवतजावत जाने सयौँ यात्रु र सवारी साधनहरु अवरुद्ध हुँदै आएका छन् । स्थानिय जनताहरुले समेत पुल उपयुक्त नभएको कारण भविष्यमा यसले नकरात्मक असर पु¥याउने भन्दै सम्बन्धित आयोजना, जिल्ला प्रशासन कार्यालय नुवाकोट, निर्माण कम्पनी र विदुर नगरपालिकाको समेत सहयोगमा सच्याउन पटक पटक माग गर्दै आइरहेका छन् । खोला अनुसारको पुल नबनेका कारण यसको डिजाइन नै परिवर्तन गरी पुनः अर्को थप्ने वा बनाउनुपर्ने स्थानिय समाजसेवी उद्धव थपलिया बताउनुहुन्छ ।

‘देश नै बनाउने नीति निर्माण तहमा रहेका सांसदले देशकै गौवरवको रुपमा लिइएको आयोजनामा निर्माण गरेको पुल त यस्तो छ भने उहाँहरुले बनाउने देश कस्तो होला ?’–विदुर नगरपालिका वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितले प्रश्न गर्नुभयो । ठेकेदार समेत रहेका सांसद बहादुरसिंह लामाको निर्माण कम्पनी कालिका रसुवा हिमदुङ एण्ड थोकर निर्माण जेभीले यस पुलको निर्माण गरेको हो । उसले पुलको डिजाइन आफैँ गर्ने र निर्माण पनि आफैँ गर्ने सम्झौता सरकारसँग गरेको छ ।

सांसद लामाले भने आफुहरुले सडक विभागले भनेबमोजिम नै पुल निर्माण गरेको दाबी गर्नुभएको छ । ‘हामीले इन्जिनियरिङ डिजाइन र फिल्ड सर्भेकै आधारमा सम्झौता भए बमोजिम पुल बनाएका हौँ’– लामाले जवाफ दिनुभयो । दुईवर्ष अघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सडक विभागसँग सम्झैता गरेको यस कम्पनीले गेर्खु खोलाको पुलसहित यस सडक मार्गमा धादिङको गल्छीदेखि रसुवागढीसम्म करिब ५७ करोडमा ११ वटा पुल बनाउने जिम्मा पाएको थियो । तर, पटक–पटक म्याद थप हुँदै समय गुजार्दै आइरहेको छ ।

सडक आयोजनासँगै सबैभन्दा बढी ठेकेदारले लापरबाही गरेकोले सरकारकै बेइजत गरिएका कारण पुल निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्न स्थानिय सरकार विदुर नगरपालिकालेसमेत माग गरेको छ । बदमासी गर्ने सम्बन्धित ठेकेदार र कम्पनीलाई कालो सुचिमा राख्ने सरकारको प्रबन्ध रहेकाले निर्माणमा अनियमितता गर्नेलाई कारबाही हुनुपर्ने विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको माग छ ।

ठेकेदार लामा सांसद मात्रै नभएर देशभरका ठुलाठुला विकास निर्माणको आयोजना नियमन गर्ने, नियन्त्रण र कमी कमजोरी भए कारबाही गर्ने व्यवस्थासहितको संसदले बनाएको विकास समितिका सदस्य समेत हुनुहुन्छ । ‘जुन समितिले विकास निर्माणको सन्दर्भमा नियम पालना नभएमा कार्यान्वयनका लागि कडाई गर्ने, काम भएन भने विकास निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रीहरुलाई बोलाएर राय, सल्लाह, सुझाव तथा परामर्श दिन्छ’, लामाले आफ्नो भुमिका प्रष्ट्याउँदै भन्नुभयो–‘गल्ती पाइए नियम अनुसार काम किन नगरेको भनेर झाँको झारिन्छ । विकास निर्माणमा ढिलासुस्ती भएमा नियमन, नियन्त्रण र कारबाहीसमेत गरिन्छ । जसका कारण विकास प्रणालीलाई पारदर्शी र छरितो पार्न सहयोग पुग्छ ।’

‘तर, यस्तो महत्वपुर्ण जिम्मेवारीमा रहेर यस्तो पारदर्शीताको कुरा गर्नुहुने सांसदले नै बनाउनु भएको पुल नै यस्तो लाजमर्नुको भएपछि उहाँलाई कसले स्पष्टिकरण सोधेर कारबाही गर्छ त ?’– मेयर पण्डितले जिज्ञासा राख्नुभयो । तर, खोला एकातिर पुल अर्कोतिर नभई इन्जिनियरको सर्भेअनुसार नै निर्माण भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीको दाबी छ ।

‘हामीले यो उपयुक्त भएन भन्ने गुनासोहरु आएपछि प्रमुख जिल्ला अधिकारीसहित, स्थानिय जनप्रतिनिधिहरुसँग बैठक बसेर यसलाई परिमार्जन गर्न विभागलाई अनुरोध गर्ने निर्णय गरिसकेका छौँ’–भण्डारीले भननुभयो । त्रिदेशीय मार्गमा निर्माण गरिएको यस्तो पुलले दैनिक अहिले हजारौँ यात्रुहरुदेखि विदेशी पर्यटकहरुलाईसमेत नेपालको विकास पद्दतिको यस नमुनाले नराम्ररी गिज्याइरहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १६:३०