७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

पत्रकार महासंघको प्रदेश ४ समिति निर्विरोध


१० बैशाख, काठमाडौँ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । महासंघको आइतबार सम्पन्न मनोनयन अवधिमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेकाले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को अध्यक्षमा त्रिभूवन पौडेल, वरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्र पौडेल (खुला), सचिव रुद्र श्रीष मगर (समावेशी) र कोषाध्यक्षमा दीपक भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सदस्यमा खुलातर्फ खेमबहादुर सारु मगर, गोविन्दप्रसाद सुवेदी, वसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, सन्तोष गौतम र सुशीलबाबु श्रेष्ठ (कैलाश) छन् भने महिला सदस्यमा अञ्जना तिमिल्सिना, कमला केसी र रवीना ढकाल, दलित सदस्यमा राजेश सोनाम, आदिवासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तीमगर तथा अल्पसंख्यक सदस्यमा शेष मोहम्मद हनिफ निर्वाचित हुनु भएको छ ।

मधेशी दुई सदस्यको कोटामा उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो । स्वतन्त्र पत्रकार संघले एउटा सदस्यमा मात्रै उम्मेदवारी दिएको थियो भने चुनाव नगर्ने सहमतिअनुसार प्रेस सेन्टरले आफ्नो भागमा परेको एउटा सदस्य फिर्ता लिएर सर्वसम्मत गराएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:५२