७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

राप्रपा केन्द्रीय परिषद्को बैठक आगामी जेठ पहिलो हप्ता वीरगन्जमा


१० बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय परिषद्को बैठक आगामी जेठ पहिलो हप्ता वीरगन्जमा गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आइबार बसेको बैठकले परिषद्मा केन्द्रीय कार्यसमितिका सदस्य, सांसद, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, महानगरपालिका र उपमहानगरपालिकाका अध्यक्ष र भ्रातृ संगठनका केन्द्रीय अध्यक्ष गरी करिब ६०० लाई सहभागी गराउने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

परिषद् बैठकमा राजनीतिक तथा वैचारिक कार्यदिशासम्बन्धी कार्यपत्र अध्यक्ष थापा, संगठनात्मक सुदृढीकरण कार्ययोजना महामन्त्री एवं संगठन विभागका प्रमुख राजेन्द्र लिङ्देन र प्रशिक्षणसम्बन्धी कार्ययोजना प्रशिक्षण विभाग प्रमुख एवम् प्रवक्ता पाठकले प्रस्तुत गर्ने निर्णय भएको छ ।

फाइल फोटो ।

विधानमा समसामयिक र आवश्यक संशोधन गर्न पार्टीका केन्द्रीय सदस्य गोविन्द खनियाँको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिको सदस्यमा महामन्त्री डा धवलशम्शेर राणा, केन्द्रीय सदस्य रामबहादुर शाह, अम्बरबहादुर विष्ट र राजु बस्नेत हुनुहुन्छ ।

परिषद्मा विधान संशोधनसम्बन्धी प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक खनियाँले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन परिणामको समीक्षासम्बन्धी प्रतिवेदन केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्नु हुनेछ ।

बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भिरता, राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्व माथिको सम्भावित खतरालाई दृष्टिगत गर्दै सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति र विगतमा राप्रपा पृष्ठभूमिमा रहेका सबैलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:४६