८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

दोषीमाथि कारबाही नगरी सार्वजनिक खपतका लागि रोइलो नमच्चाउन नेकपाका नेता सूर्य थापाको सुझाव

३१ भदाै, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई केहीदिन यता एक्लो चर्चामा छन । राजवादी समूहको नाममा अराजकता सिर्जना गर्दै हिड्ने ज्ञानेन्द्र शाहीले नेपालगञ्जबाट काठमाडौँ आउनेक्रममा उडान ढिला गराएको भनेर मन्त्री भट्टराईलाई झण्डै कुटेनन् ।

शाहीको समूहले नै खिचेको १३ मिनेट लामो भिडियोमा ज्ञानेन्द्रले मन्त्रीमाथि पटक पटक जाइलागेको देखिन्छ भने विमानभित्र हुलहुज्जत पनि । हुनत उक्त विषय काठमाडौँमा उत्रने वित्तिकै मन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत आफ्ना कारण यात्रुहरूलाई परेको असरको बारेमा क्षमा मागे पनि । त्यसपछि मन्त्रीका अभिव्यक्ति र उनको सचिवालयका तर्फबाट आएको विज्ञप्तिले स्वयं उनैलाई थप विवादित बनाइदिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई ।

प्रहरीले ज्ञानेन्द्र शाहीलाई कारबाहीको तयारी गर्दा गृहमन्त्रालयका अधिकारी मार्फत कारबाही नगर्नु भन्ने सन्देश दिएका भट्टराईले नै नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पर्ने पनि बताएका छन । तर विमानभित्र हुलहुज्जत गर्ने ज्ञानेन्द्र शाहीलाई भने संरक्षण दिएका छन । प्रहरी हिरासतबाट छुटे लगत्तै शाहीले पुन मन्त्रीका विरूद्धमा विषवमान गरेका छन ।

मन्त्री भट्टराई र ज्ञानेन्द्र शाहीको बारेमा सामाजिक सञ्जालमा चर्को बहस भैरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल मार्फत नै मन्त्रीलाई सार्वजनिक खपतका लागिमात्र रोइलो नगर्न अनुरोध गरेका छन । उनले फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु भन्दै भनेका छन ‘हवाई उडान सेवासम्बन्धी कानुन उल्लंघन गरी जथाभावी गर्ने शाही र न्यौपानेलाई त्यस कसुरमा मुद्दा चलाएर देखाउने नागरिक उड्डयन मन्त्रालयले नै हो । त्यसो नगरी ‘पब्लिक कन्जम्सन’ का लागि रोइलो मच्चाउन आवश्यक छैन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापा ।

उपप्रमुख थापाले सत्तारूढ दलका विद्यार्थीले अरूको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने र युवा संगठनले प्रवेश निषेधको वक्तव्यवाजी गर्ने रवैया गलत र अराजक क्रियाकलाप रहेको समेत टिप्पणी गरेका छन । उनले भनेका छन ‘कानुन हातमा लिन खोज्ने रवैया जो कसैले प्रदर्शन गरे पनि निन्दनीय छ। ग्यानेन्द्र शाही वा बालकृष्ण न्यौपाने अथवा प्रेम कैदी र सुरेन्द्र भण्डारीका अभिव्यक्ति तध्य, शिष्टता र सामाजिक मर्यादाभित्र पर्दैनन् । कानुनबमोजिम तिनलाई नियन्त्रण गर्न अविलम्ब कदम चाल्ने काम सरकारको हो ।’

प्रकाशित मिति : September 17, 2019 at 7:41 pm