८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

 २७ भदौ, विराटनगर । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० मात्र डेङ्गुबाट प्रभावित भएको र यसमा निकै सुधार भएको पाइएको छ ।

हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेङ्गु बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ ।

अहिले नेपालको धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण बढनाका साथै यसबाट मानिसको मृत्युसमेत हुन पुगेको छ । दिल्लीमा शुरुआत गरिएको अभियान नेपालमा शुरु भएमा यो रोगको खतराबाट मुक्त हुन सकिने विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक सङ्ज्ञा ज्ञवाली बताउनुहुन्छ ।

सुनसरीको धरानबाट फैलिएको यो रोग अहिले नेपालको ५३ जिल्लामा फैलिएको छ । डेङ्गुको यो भयावह स्थितिलाई हेरेर यस विषयमा राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने र सरकासले अहिले चालेको कदम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति : September 13, 2019 at 4:28 pm