प्रहरीलाई घुस दिन खोज्ने चालक कबिरबहादुर तामाङ पक्राउ
१३ भदौ, झापा । प्रहरीलाई घुस दिन खोज्ने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–११ का ५१ वर्षीय कबिरबहादुर तामाङ रहेका छन् । पश्चिमबाट गाईगोरु लोड गरी ल्याएको को १ ज २४४५ नम्बरको पिकअप भ्यानलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१३ स्थित चारआली चोकमा चेकजाँचको क्रममा प्रहरीले रोकेका थिए ।
चेकजाँचका क्रममा चालक तामाङले ५०० रुपैयाँ घुस दिन खोज्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । तामाङले चलाएको पिकअप भ्यानमा आठवटा गाईगोरु रहेको प्रहरीले जनाएको छ । घुस दिने चालक तामाङलाई भ्यानसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय चारआलीमा राखिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : August 30, 2019 at 12:13 pm









