८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि रक्षा अधिकारीबीच छलफल

१२ भदाै, हुम्ला । नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल सरकारबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि लिखित वार्ता नभएको बताउनुभयो । वार्ताका लागि चिनियाँ पक्षले सिमानासँग जोडिएका नाकामा तिब्ब्तीहरुको आवतजावतमा कडाइका साथ जाँच गर्ने, अनधिकृत प्रवेशमा रोक लगाउने, चीनविरोधी गतिविधिमा संलग्नलाई निगरानी गर्नेलगायतका विषयमा छलफल भएको वार्ताटोली संयोजक प्रजिअ भट्टराईले बताउनुभयो ।


नेपाल सरकार गृह मन्त्रालयले सीमा सुरक्षा वार्तामा कुनै सम्झौतामा हस्ताक्षर नगर्ने र अनौपचारिक कार्यक्रममा सहभागी हुने भनी आदेश दिएकाले वार्तामा चिनियाँ पक्षले ल्याएको एजेण्डामा प्रजिअले हस्ताक्षेर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

चिनियाँ पक्षले तिब्बती नागरिक नेपाल हुँदै बिनाप्रवेशाज्ञा भारत जान रोक लगाउनुपर्ने, सीमामा हुने अनैतिक कार्य बन्द गर्नुपर्ने, मानिस आवतजावत गर्ने नाकामा संयुक्त सुरक्षा पोष्ट बनाई आवतजावतमा कडाइ गर्नुपर्ने, हिल्सा नाकाबाट हुने सुन तस्करी बन्द हुनुपर्ने, अवैधरूपमा हुने हातहतियार तथा मानव तस्करी र विभिन्न खाले सामानको ओसारपोसारमा रोक लगाउनुपर्ने भन्ने एजेण्डा अघि सारेको थियो ।

चीन सरकारका यी एजेण्डामा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी भट्टराईले हस्ताक्षर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो । विगतका वर्षमा वार्ता टोलीलाई वार्ता सकिएपछि मानसरोवर कैलाश घुमाएर नेपाल पठाउने गरिएको भए पनि यसपटकको वार्ता असफल भएपछि वार्ता टोलीलाई मानसरोवर कैलाश जान नदिएर ताक्लाकोट नै फिर्ता पठाएको छ ।

वार्ता भएपछि केही समस्या समाधान होला भनेर सोचेका हुम्लीवासी सीमा सुरक्षा वार्ता असफल भएपछि निराश भएका छन् । सीमा वार्ताको बैठक चिनियाँ सीमा प्रहरीचौकी सेरामा बसेको थियो । हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई र चिनियाँ पक्षको पुराङ्ग काउण्टीका सिडिओ किउसीले नेतृत्व गर्नुभएको थियो । रासस

प्रकाशित मिति : August 29, 2019 at 9:50 am