८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

तुर्किस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

११ भदाै, काठमाडाैँ । पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भइरहेकोे छ । पछिल्लो समयमा काजकस्तानको एक शहर तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँ जोरपाटी बस्ने रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । हर्कबहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका– ६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक एक हजार दुई सय डलर तलब र खान बस्नसमेत दिने प्रलोभन देखाइ नक्कली टिकटसमेत बनाइ रु तीन लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

उनी अहिले सम्पर्क विहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य चारजना व्यक्तिबाटसमेत जनही रु तीन लाखका दरले रकम लिई ठगी गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 28, 2019 at 7:05 pm