८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

प्राविधिक विषयको पढाइ शुरु

१० भदाै, डाेटी । जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको शहीदस्मृति आवासीय माविमा वनविज्ञान, शिखर नगरपालिका गोपघाटस्थित राधाकृष्ण माविमा कृषि जेटिए तथा सायल गाउँपालिकास्थित भवानी माविमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको हो ।

भवानी माविमा सिभिल इञ्जिनिरिङ (९–१२) पढाइशुरु भइसकेको छ भने अन्य विद्यालयमा पढाउने तयारी भइरहेको डिभिजन शिक्षा एकाइ क्षेत्रीय कार्यालयका प्रमुख वसन्त खत्रीले बताउनुभयो । प्राविधिक पढाइ आफ्नै गाउँमा शुरु भएपछि अहिले विद्यार्थी अन्य विषयभन्दा पनि प्राविधिक विषय पढ्नमा बढी चासो दिन थालेको कुमालीकोट माविका प्रधानाध्यापक दिलबहादुर कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले प्राविधिक विषय पढ्नका लागि निकै कठिन र गाह्रो थियो, अहिले सरकारले स्थानीय तहमै विद्यालय खोलेपछि विद्यार्थी प्राविधिक विषय पढ्न बढी चासो देखाउदैछन् । सरकारले स्थानीयतहअन्तर्गतका गाउँपालिकामै प्राविधिक विषय पढाउने व्यवस्था मिलाएपछि अहिले स्थानीयवासी पनि खुशी छन् ।

सायल गाउँपालिकाका नेकपाका नेता तेजबहादुर डुम्रेलले भन्नुभयो, “घरकै आटोढुटो खाएर र फाटो लाएर प्राविधिक विषय पढ्न पाउनु भनेको ठूलो कुरो हो, गरीबका छोराछोरा पनि प्राविधिक विषय पढ्न पाउने भए यो खुशीको विषय हो ।” सोही गाउँपालिकाको भवानी माविमा सञ्चालनमा भएको प्राविधिक शिक्षा सिभिल इञ्जिनीयर (९–१२) मा अध्ययनरत ४८ मध्ये र एक बझाङका विद्यार्थी रहेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज उपाध्यायले जानकारी दिनुभयो ।

यहाँका स्थानीय तहहरुको सहयोगमा विभिन्न विद्यालयमा कम्प्युटर इञ्जिनीयरिङ (आइटी) अध्यापन शुरु भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । पछिल्लो समय जिल्लामा रहेका विद्यार्थी अरु विषयभन्दा पनि बढीजसो प्राविधिक विषय पढ्नका लागि लागिपरेको नबोदय माविका प्रधानाध्यापक फणेन्द्रबहादुर खडायतले बताउनुभयो । यसअघि सुदूरपश्चिम प्रदेशभरिका विद्यार्थीका लागि डोटीको दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयले मात्रै प्राविधिक पढाइ सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : August 27, 2019 at 3:29 pm