१५ वर्षीया बालिकालाई बिहे गर्छु भन्दै यौनशोषण गर्ने सुमन खड्का पक्राउ
१० भदौ, काठमाडौँ । १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौँ महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का रहेका छन् ।

आर्थिक अवस्था कमजोरी भएकी बालिकालाई खड्काले विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौँमा विभिन्न स्थानमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए ।
उच्च अदालत पाटनले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एक दिन कैदको सजाय सुनाएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले खड्कालाई गत भदौ ८ गते काठमाडौँको क्षेत्रपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ ।
प्रकाशित मिति : August 27, 2019 at 2:30 pm









