३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्र बैंकलाई रवि लामिछानेको बैंक खाता खोज्न प्रहरीको पत्र

९ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी लामिछानेसहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै प्रहरीले नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण मागेकाे हो।

 

साउन २० मा चितवनको कंगारु होटलमा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा रवि लामिछानेसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए ।

रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए। यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबार खोजबिन सुरु गरेको हो।

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ।

प्रकाशित मिति : August 26, 2019 at 5:27 pm