८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सिन्धुपाल्चोकमा सुरुङ निर्माण ७५ प्रतिशत निर्माण सम्पन्न

८ भदाै, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिनुभयो ।

फाइल फाेटाे

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिदै गएपछि अव सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ । विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेक वर्ष तिब्वत्बाट आउने गरेको भोटेकोशी बाढीले गर्दा निर्धारित समय भन्दा चार वर्ष ढिलाइ हुनगएको बताइएको छ ।

हाल विद्युत् गृहको जग खन्ने काम सम्पन्न भएको छ । भोटेकोशी र चाकुखोला दोभान भन्दा १०० मिटर तल निर्माण गरिने बाँधको उचाइ ६ मिटर र लम्बाइ ३४ मिटरको हुनेछ । हेडवक्र्सको काम भने वर्षात कम भएपछि मात्र शुरु गरिने कार्यक्रम रहेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तथा सर्वसाधारणको शेयरसहित रु १४ अर्ब ५० करोड लागत रहेको आयोजनाको लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । आयोजनाको ‘सिभिल’ कार्य चिनियाँ वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र ‘इलेक्ट्रिक’को काम अष्ट्रियाको एण्डिज हाइड्रो कम्पनीद्वारा भइरहेको छ ।

सो आयोजनाबाट वार्षिक बिक्री योग्य विद्युत् ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ । आयोजनाबाट वर्षायाममा ४५ करोड ८६ लाख युनिट तथा सुख्खा याममा आठ करोड ३८ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाको लागि २२० केभिए प्रशारणलाइन बाह्रबिसे सवस्टेशन रहने गरी निर्माण गरिने कार्यक्रम रहेको छ । त्यहाँ सवस्टेशन रहेपछि आयोजनास्थलबाट चार किलोमिटर प्रशारण लाईन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : August 26, 2019 at 1:15 pm