एनआरएनएको महाधिवेशन काठमाडौँमा, उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी
६ भदाै, काठमाडाैँ । ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो । उक्त विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुने छ ।

सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्यअन्तिम चरणमा पुगेको छ । आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ । यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ । यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ ।

यसैबीच गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिनुभयाे ।
एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको कुरा अधिकारीले उल्लेख गर्नुभयाे । साथै अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने योजना रहेको कुरा पनि उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति : August 23, 2019 at 7:59 pm









