११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

राजपा फुट्यो, अशोक यादवको नेतृत्वमा राजपा (लोकतान्त्रिक) गठन

७ बैशाख, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् ।

काठमाडाैँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित हुनुहुन्छ ।

संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका छ जना र उनीहरुका परिवारले मात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरुले नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भए पनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमण्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन भन्नुभयो । राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्ने छ ।

प्रकाशित मिति : April 20, 2018 at 4:59 pm