७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

सेटिङमा जम्दै जुवा अखडा, श्रीमती कमाउने श्रीमान् उडाउने ! 

३२ साउन, काठमाडौँ । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका धेरै दृष्टान्त छन् ।सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गछिन्, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उनको श्रीमान्लाई जुवा खेल्नै पुग्दैन ।


उनका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक–पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन । श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्छिन्, “मैले एक छाक मीठो खान र एक सरो राम्रो लुगा लगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ ।” त्यस्तै पीडा छ अर्की महिला रामकलाको पनि । पकनाजोलमा किराना पसल सञ्चालन गरी दुई सन्तानलाई हुर्काउँदै आएकी छिन् उनले । काठमाडौंमा घर भएर पनि भाडामा बस्नुको पीडा सुनाउँदै रामकलाले थपिन्, “जुवाडे श्रीमान् राधेश्यामका कारण घर न टहराको बास भएको छ ।”

“महिना नमर्दै घरको भाडा उठाएर जुवा अखडामा धाउँदा–धाउँदा श्रीमान् राधेश्यामले घरसमेत सहकारीको लिलामीमा पारिसकेको रहेछ”, उनले भनिन्, “झगडा गरौँ आफ्नै बदनाम, पुलिसलाई भनौँ सात दिनमै छुटेर आउँछ ।” जुवाडे श्रीमान्बाट प्रताडित लक्ष्मी र रामकला केही उदाहरण मात्र हुन् । यस्तो पीडा भोग्नेहरूको समस्या काठमाडौँ उपत्यकामा कहालीलाग्दो छ । विशेषगरी घर–जग्गा दलाल, अवकाशप्राप्त कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र ढुकुटी खेल्नेहरू केहीमा जुवाको लत बढी देखिएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति : August 17, 2019 at 8:04 am