नयाँ बसपार्क हडप्न खोज्ने काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीयविरूद्ध सर्वोच्चमा रिट
२० साउन, काठमाडाैँ । गोगंबुमा रहेको नयाँ बसपार्क हडप्न खोज्ने काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीयविरूद्ध सर्वोच्चमा रिट परेकाे छ । नयाँ बसपार्कका भौतिक संरचना सहमति र मापदण्डविपरित बनाइएको तथा सरकारी जग्गा हडप्न खोजको भन्दै सर्वोच्च अदालतमा काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६५ रोपनी सरकारी जग्गा हडप्ने योजनाअनुसार भएका सम्झौता बदर गर्न माग गरिएको छ ।

सार्वजनिक यातायात महासंघका तर्फबाट होमप्रसाद अधिकारी,गणेश उप्रेती कृष्णबहादुर तिमल्सिना, भरतकुमार नेपाल, किरणकुमार रिजाल र गोपबहादुर ठकुरीले उत्प्रेरणायुक्त परामदेशको माग गर्दै सर्वोच्च अदालतमा निवेदनपत्र बुझाएका छन् । ल्होत्सेले सम्झौताविपरित नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन राजनीतिक शक्ति केन्द्रहरुको सहयोग लिएको दावी रिटमा गरिएको छ ।
रिटमा काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वभित्र नरहेको र नपरेको विषयमा अनाधिकृत रुपमा सम्झौता गरी लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनको जिम्मेवारी दिएको भन्दै २०५६ चैत २९ र २०७२ साउन २५ गतेको महानगरपालिका र लोत्सेबीचको पुरक सम्झौता बदर गर्न माग गरिएको छ ।
प्रकाशित मिति : August 5, 2019 at 2:14 pm









