११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

कांग्रेसलार्इ एक ढिक्का बनाउनुको विकल्प छैनः पौडेल

४ बैशाख, काठमाडाैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि जनतामाझ त्यसको आवश्यक प्रचारप्रसार गर्न नसक्दा पार्टीले निर्वाचनमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको हो ।”

वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउँदै पार्टीभित्रको गुट उपगुट हटाउन काँग्रेसले सुधारको अभियान चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा नेताले पु¥याएको योगदानको न्यायोचित मूल्यांकन नहुँदा पार्टी कमजोर भएको उल्लेखगर्दै उहाँले विपीको समाजवादलाई अगाल्दै अगाडि वढ्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले निर्वाचनको पराजयबाट पाठ सिकेर जगबाट नै काँग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो भन्नुभयो । सो अवसरमा पार्टीका विभिन्न तहका कार्यकर्ताले निर्वाचनमा पराजय भोग्नुका कारण पार्टीले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्नुनसक्नु, पार्टीभित्र गुटबन्दी हावी हुनु, सिद्धान्तअनुसार पार्टी चल्न नसक्नु, केन्द्रीय तथा जिल्ला समितिले प्रभावकारी समन्वय गर्न नसक्नु, टिकट वितरणमा नातावाद, कृपावाद एवम् पैसाको चलखेल बढी हुनुलगायत रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : April 17, 2018 at 6:51 pm