७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

घरजग्गा व्यवसायीलाई अपहरणको धम्की दिँदै ७५ लाख माग गर्ने उदय गिरी पक्राउ

१९ साउन, काठमाडौँ । व्यापारीलाई अपहरणको धम्की दिँदै मोटो रकम माग गर्ने एक युवक पक्राउ परेका छन् । फोनमार्फत धम्की दिई व्यवसायीहरुसँग रकम बार्गेनिङ गर्ने ललितपुरका उदय गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। ललितपुर महानगरपालिका–२४ धापाखेल बस्दै आएका ३० वर्षीय गिरीले नेपाली तथा भारतीय नम्बरको सिमकार्ड प्रयोग गरी फोनबाट धम्क्याउदै तीनजना घरजग्गा व्यवसायीसँग ७५ लाख रकम माग गरेका थिए ।

व्यवसायीले महाशाखामा रकम माग गरी धम्की दिएको भनी उजुरी गरेका थिए । उजुरीपछि अनुसन्धान गर्ने क्रममा गिरीलाई शुक्रबार ललितपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए। गिरीले नेपालकै तराईमा गई नेपाली सिमबाट र भारतमा पुगी भारतीय सिमकार्डबाट व्यवसायीलाई धम्की दिने गरेकाे एसपी ढकालले बताए । व्यवसायीलाई धम्क्याउनकै लागि गिरी प्लेन चढेर दिल्ली गएका थिए ।

दिल्ली पुगेर उनले भारतीय नम्बरबाट व्यवसायीहरूलाई पालैपालो फोन गरी धम्क्याउदै रकम मागेका थिए । साउन १० गते दिल्ली गएका उनी १२ गते फर्किएका थिए। गिरीले व्यवसायीहरुलाई ‘तिमीहरुको परिवारको सबै विवरण थाहा छ, रकम नदिए अपहरण गर्छु’ भन्दै बार्गेनिङ गर्ने गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनकारी दिएको छ।

गिरी यहअघि पनि जेल सजायँ भोगिसकेका अभियुक्त हुन् । उनले हतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल सजायँ भुक्तान गरिसकेका छन् । उनको कोठाबाट थुप्रै नेपाली र भारतीय सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 4, 2019 at 2:21 pm