बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले जलाए गाडी, उपत्यकामा विद्यालयमा मात्र असर
१५ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले गरेको बन्दको कारण काठमाडाैँ उपत्याकामा विद्यालय बन्दन हुने बाहेक खासै असर परेको छैन । तर बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा दुइवटा सवारीमा आगजनी गरेका छन् ।
बन्द आह्वान गरे विप्लवका कार्यकर्ताले मकवानपुरको फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कार र हेटौंडा–नारायणगढ सडक खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका हुन । आगजनीबाट कार र ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार विप्लवकै कार्यकर्ताले हेटौंडाका विभिन्न स्थानमा राखेको शंकास्पद वस्तु पनि निष्क्रिय पारिएको छ । उनका अनुसार हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । विप्लवका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामा पक्राउको बिरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द गराएका हुन ।
प्रकाशित मिति : July 31, 2019 at 10:02 am









