पहिराेमा पुरिएर ज्यान गुमाएकी गौतमको परिवारलाई प्रशासनको राहत
९ साउन, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो ।
अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भँैसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको रु २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो ।
मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतकका तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताउनुभयो ।
प्रकाशित मिति : July 25, 2019 at 8:12 am









