लमजुङको बाढी अपडेटः जलविद्युतकाे ड्याम बगाउँदा ४ को मृत्यु, ३ बेपत्ता, १४ काे उद्धार
८ साउन, लमजुङ । लमजुङको दोर्दीखोलामा बाढी आएर जलविद्युत्काे ड्याम बगाउँदा ४ जनाको मृत्यु भएको छ । बाढीले बगाएकामध्ये दुई जनाको शव दोर्दी गाउँपालिकाको शेरापुलनजिक र अर्का दुईजनाको शव कीर्तिपुरबेसीमा भेटिएको छ । दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको ड्याममा बाढी पस्दा तीनजना बेपत्ता भएका छन् ।
ड्यामभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको र अझै तीन जना वेपत्ता भएकाे आयोजनाका प्रवर्द्धक केशव रायमाझीले जानकारी दिएका छन् । वेपत्ता भएकाहरूकाे खोजी भइरहेको रायमाझीले जानकारी दिए। बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको रायमाझीले बताए ।बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : July 24, 2019 at 7:45 pm









