सामाजिक सुरक्षा भत्ताबाट जीवन निर्वाह गर्दै दम्पती
७ साउन, विराटनगर । सामाजिक सुरक्षा भत्ताबाट जीवन निर्वाह गरिरहेको एक दम्पतीले सरकारको दीर्घायु र सफलताको शुभकामना दिएको छ । सुनसरी इनरुवा नगरपालिका–७ डोडा निवासी ८३ वर्षीय दुखाई शर्मा खत्वे र उहाँकी धर्मपत्नी ८१ वर्षीया रुनाले सो आशिष दिनुभएको हो । गरीबीको चरम अवस्थामा जीवनयापन गरिरहेको सो दम्पतीका चार छोरी विवाह भएर आ–आफ्ना घर गइसकेका छन् । दुब्लो शरीर र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको सो दम्पतीलाई अहिले एक छोरी घुर्नादेवी खत्वेले स्याहार गरिरहनु भएको छ । उहाँको पनि श्रीमान् केही वर्ष पहिले देहान्त भइसकेर बेसहारा हुनुभएकी खत्वे बुबाआमामै शरणमा छन् ।

हिँडडुल गर्न पनि नसक्ने सो दम्पतीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट जीवनयापन गरिरहेका छन् । थलहा नदी किनारमा सामान्य झुपडीजस्तो एक घर र दिसापिसाब गर्न बनाइएको चर्पीमै सीमित भएका सो दम्पतीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाहेक डोरी बाँटेर बिक्री गरी थप आम्दानी गर्ने गरेका छन् ।
विसं २०५१ मा तत्कालीन नेकपा(एमाले) का सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालाई सम्मानस्वरुप प्रतिमहीना रु एक हजार भत्ता दिने गरेको निर्णयले आजसम्म त्यस्ता समूहका मानिसका बाँच्ने आधार बनेका छन् । त्यसपछिका सरकारहरुले सामाजिक सुरक्षा भत्तालाई बढाउँदै लगेका थिए । वर्तमान सरकारले त्यसमा मासिक रु एक हजार थप दिने निर्णयपछि रु तीन हजार पुगेको छ ।
आ–आफ्ना वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकाबाट चार महीनामा वितरण गरिँदा एकमुष्ट रुपमा रु १२ हजार पाउने भएका छन् । काम गरेर खान नसक्ने उमेरमा पाउने सामाजिक सुरक्षा भत्ताले उहाँहरुमा निकै उमङ्ग र उत्साह बढेको छ । सोही स्थानकी घोघनीदेवी शर्मालाई सामाजिक सुरक्षा भत्ता नै आफ्नो बाँच्ने आधार भएको भएको छ । उहाँ भन्नुहुन्छ, “सरकारले दिएको भत्ताले हामीजस्ता बेसहारा र श्रीमान् गुमाएका महिलाको जीविका चलिरहेको छ ।’’
प्रकाशित मिति : July 23, 2019 at 3:33 pm









