६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

बीस हजार इञ्जिनीयरको सामूहिक बीमा गरिँदै

२ साउन, काठमाडाैँ । बीस हजार इञ्जिनीयरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले दुर्घटना बीमा गर्न गर्न लागिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिनुभयो । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा रु ५० लाख उपलब्ध गराएर बीमा शुरु गरिनेछ ।

पहिलो चरणमा शुरु गरिएको बीमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भन्नुभयो, “जुन स्थानमा हाम्रा इञ्जिनीयरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।” प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएकोे प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो ।

एशोसिएशनका महासचिव छविराज पोखरेलका अनुसार इञ्जिनीयरलाई थप व्यावसायिक एवं दक्ष बनाउने र जीवन सुरक्षाका लागि समेत बीमा कार्यक्रम अगाडि बढाउन लागिएको हो । “सकेसम्म कुनै पनि इञ्जिनीयर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

नेपाल इञ्जिनीयरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इञ्जिनीयर छन् भने एशोसिएशनमा आबद्ध भएका इञ्जिनीयरको सङ्ख्या २७ हजार छ । एशोसिएसनमा आबद्ध नभएका इञ्जिनीयरलाई पनि सङ्गठित गर्ने प्रयासमा लागिएको महासचिव पोखरेलको भनाइ थियो ।

यस्तै एशोसिएशनले इञ्जिनीयरलाई थप दक्ष र पेशाप्रति इमान्दार बनाउने लक्ष्यका साथ परीक्षा लिएर प्रमाणपत्र लिने व्यवस्था गर्न लागेको छ । इञ्जिनीयरिङ सेवा ऐनको तयारीमा समेत लागिएको जनाइएको छ ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सम्पूर्ण इञ्जिनीयरका तर्फबाट पनि साथ र सहयोग रहने जनाउँदै एशोसिएसनले गुणस्तरीय भौतिक निर्माणका लागिसमेत आफूहरु परिचालन भइरहेको बताएको छ । हरेक वर्ष साउन ३ गते ‘इञ्जिनीयर दिवस’ मनाउने निर्णय गरेको एशोसिएसनले यस वर्ष इञ्जिनीयर दिवसको नारा ‘समृद्ध नेपाल निर्माणका लागि इञ्जिनीयरिङ सेवा’ तय गरेको छ ।

दिवसका अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी, यातायात पूर्वाधार, सङ्घीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका क्षेत्रमा तीन प्राविधिक सत्रको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा इञ्जिनीयरिङ क्षेत्रमा लामो समयदेखि योगदान गर्ने इञ्जिनीयरलाई समेत सम्मान गरिने भएको छ ।

प्रकाशित मिति : July 18, 2019 at 5:03 pm