६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम वितरण

– सुशीला रेग्मी

२ साउन, बेझाड । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ ।

दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट प्राप्त रु १६ लाख ९० हजार ५८४ कृषकलाई प्रदान गरिएको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । “वर्षभरिमा कृषकले सहकारीमा दूध बिक्री गरेका आधारमा प्रतिलिटर एक रुपैयाँ ९२ पैसा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

सहकारीले दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्ष केन्द्रीय सरकारबाट रकम प्राप्त भएको थियो भने दोस्रो वर्ष प्रदेश सरकारको सहयोगमा कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको व्यवस्थापक जिसीले बताउनुभयो ।

जिल्लामै कृषकबाट धेरै दूध खरीद गरी बिक्री गर्ने डुम्रे दुग्ध उत्पादक सहकारीमा दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलित दूधमध्ये एक हजार ८०० लिटर दूध पोखरामा बिक्रीका लागि लगिन्छ । सहकारीमा आबद्ध रहेकामध्ये ४१ वटा ठूला दुग्ध उत्पादक फार्म आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा छन् ।

सहकारीमा आबद्ध रहेका कृषकले बढीमा ६५ वटासम्म दुधालु पशुपालन गरेर आम्दानीको स्रोत जुटाउँदै आइरहेका छन् । सहकारीले कृषकलाई मध्यनजर गर्दै १३ स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध खरीद गर्ने गरेको छ । डुम्रे क्षेत्रमा तीन, तिनाऊ गाउँपालिका–३ को झुम्सामा एक, रिब्दिकोट गाउँपालिका–६ को ठिमुरेमा दुई, ४ को भैरवस्थानमा एक, माथागढी गाउँपालिका–२ दध्रामा एक र सोही गाउँपालिका–३ कसेनीको सराईमा एक वटा दूध सङ्कलन केन्द्र रहेको छ ।

त्यस्तै तानसेन नगरपालिका–८ स्थित मदनपोखरामा दुई, ९ को बन्दिपोखराथोकमा एक, रिब्दिकोटको सोमरमा एक गरी १३ वटा सङ्कलन केन्द्रबाट कृषकको दूध खरीद गरी सहकारीले बजारसम्म पु¥याउने गरेको बजार व्यवस्थापक कृष्णप्रसाद भट्टराईले बताउनुभयो । “कृषकलाई पायक पर्ने विभिन्न ठाउँमा सङ्कलन केन्द्र स्थापना गरिएपछि दूध खरीद–बिक्री गर्न सजिलो भएको छ, कृषकको सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो ।

कृषकको घरघरबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउन १७ जना कर्मचारी परिचालन गरिएको छ । गुणस्तर हेरी गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैँसीको ६० देखि ६५ सम्म कृषकबाट दूध खरीद गर्ने गरेको सहकारीले जनाएको छ । कृषकबाट खरीद गरेको गाईको दूध ७० र भैँसीको ८० सम्ममा बजारमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : July 18, 2019 at 12:23 pm