खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ
१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र रिशी गंगा रहेका छन्। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले आफू खल्तीको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। खाता बन्द हुन नदिन ग्राहकको केवाईसी अपडेट गर्नुपर्ने, बैंक खाता खल्तीमा लिंक गरिदिने, व्यवसायिक खातामा रकम प्राप्त हुँदा आवाज आउने विद्युतीय उपकरण उपलब्ध गराउने र रकम पठाउँदा शुल्क नलाग्ने बनाइदिने जस्ता प्रलोभन देखाएर उनीहरूले ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी सम्पर्क गरेपछि उनीहरूले पीडितलाई मोबाइलको स्क्रीन अर्को व्यक्तिले पनि हेर्न मिल्ने सुविधा (स्क्रीन शेयर) प्रयोग गर्न लगाउने र बैंक तथा खल्ती वालेटको ओटीपी नम्बर लिने गरेको प्रहरीको भनाइ छ। त्यसपछि सर्वसाधारणको बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्याएर विभिन्न खातामा रकम पठाई ठगी गरेको आरोप उनीहरूमाथि छ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको साथबाट बरामद भएका मोबाइल र सिमकार्ड परीक्षण गर्दा विभिन्न मोबाइल नम्बर तथा ह्वाट्सएप खाताहरू ठगीमा प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : October 27, 2026 at 2:46 pm










