निर्मला प्रकरणः हत्याराको खोजी छाडेर समाचार लेख्ने पत्रकारलाई जेल
१ साउन, काठमाडाैँ । निर्मला हत्या प्रकरणमा सबैभन्दा बढी समाजिक सञ्जालमा स्टाटस लेख्ने र समाचार समेत लेख्ने पत्रकार खेम भण्डारीलाई सामाचार नलेख्ने प्रतिवद्धता जिल्ला अदालत कञ्चनपुरले मागेको छ । पत्रकारलाई समाचार नै नलेख्ने भनेर अदालतले कसम खुवाउन खोजेको सम्भवत यो पहिलो पटक हो । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार इकाइले २०७५ चैत ४ गते भण्डारीविरूद्ध मुद्दा दायर गरेको थियो । श्रेस्तेदार अवस्थीक अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुने छ।
भण्डारीलाइ राखेको शर्तमा १. अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, २. कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने, ३. आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा समाचार नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने रहेका छन ।
उल्लेखित शर्त पूरा नगरे पत्रकार भण्डारीलाइ एक घण्टा कैद हुनेछ भनेर एक रूपैयाँ जरिवाना हुनेछ । मुद्दामा वादीका तर्फबाट बार इकाईका अधिवक्ताहरुले बहस गरेका थिए भने प्रतिवादीतर्फ कुनै कानुन व्यवसायी नराखी स्वयम् पत्रकार भण्डारीले बहस गरेका थिए। यता भण्डारीले अदालतले अाफूमाथि अन्याय गरेको भन्दै अदालती प्रक्रिया पूरा गरेर माथिल्लो अदालत जाने बताएका छन ।
प्रकाशित मिति : July 17, 2019 at 8:51 am









