६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

दक्षिण एशियामै पहिलो पटक केयूमा टीभीइटी लक्षित मास्टर्स डिग्री सुरु, ओलीको सपना पूरा हुँदै

-ध्रुव पाैडेल

३१ असार, काठमाडौँ । काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीइभीटी) लक्षित मास्टर्स डिग्री कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पल्ट काठमाडौं विश्वविद्यालयले सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएलगत्तै देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेका थिए ।

देशका ७० प्रतिशत युवायुवतिले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्राप्त गर्न सके समाज रुपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ । सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने महत्वकांक्षी योजना राखेको छ । देशभर सीटीईभीटीका झण्डै ६०० आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् । सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको हो ।

“सरकारले एक गाउँ एक प्राविधिक शिक्षालयको अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौं” स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले भन्नुभयो र थप्नुभयो “तर यो कार्यक्रमको पूर्व तयारी पहिलेबाट भएको थियो ।“
पराजुलीले सरकारले प्राथमिकताका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा तथातालिमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रुपमा यो कार्यक्रम सुरु गरेको बताउनुभयो ।

नेपालको प्राविधिक शिक्षा तथा तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोशेढुंगा सावित हुने कुरा प्राध्यापक डाक्टर टंकनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो – “नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।“

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विज्ञ डाक्टर उषा भण्डारीले भन्नुभयो – “प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रको लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य बिशेषज्ञ तयार गर्दछ।“ उहाँले भन्नुभयो “पढ्ने मात्र नभई गरीखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ ।“ यस शैक्षिक कार्यक्रममा केयूले निश्चित संख्यामा छात्रावृत्ति समेत प्रदान गर्ने जनाइएको छ । हाल भर्ना प्रक्रिया जारी रहेको छ ।

प्रकाशित मिति : July 16, 2019 at 11:10 am