६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

बाढी पीडितको उद्धारका लागि १० हजार सशस्त्र प्रहरी परिचालित

२९ असार, काठमाडाैँ । हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । एपीएफ टोली आज अपरान्हसम्म देशका विभिन्न भागमा अविरल वर्षाको कारण बाढि पहिरो तथा डुवानमा परेका चार सय ९३ जनालाई उद्वार गरेको छ । उद्वार कार्यमा करीव १० हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका छन् ।

यसैबीच आज मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीमा अविरल वर्षाको कारण डुवानमा परेका घरहरुबाट एपीएफ टोलीले करीव ४० जनालाई उद्वार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो । यसैगरी सोही जिल्लाकै उर्लावारी नगरपालिका ८ स्थित चौधरी टोलमा अविरल वर्षाको कारण बक्राहा खोलाले बाध कटान गरी डुवाउने सम्भावना रहेपछि सो ठाउँका २१ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुको उद्वार गरेको हो । यसैगरी सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ ईटारीप्रसाई स्थित घुर्मी र कमला खोलाको तटमा आँपको रुखमा फसेका सोही ठाउँ बस्ने ६० वर्षिय महेश्वर साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।यसैगरी सिन्धुली गोलान्जोर गाउँपालिका ५ स्थित २६ किलो भन्ने स्थानमा अविरल वर्षाको कारण सडक माथिबाट ढुंगासहितको पहिरो आई अवरुद्ध विपी लोकमार्ग एपीएफ टोलीले खुलाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट खटिएको एपीएफ टोलीले उक्त अवरुद्व सडक खुलाएको हो । अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

प्रकाशित मिति : July 14, 2019 at 10:29 pm