मेलम्ची आयोजनाको काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको अबरोध, मजदूरलाई धम्की
२९ असार, काठमाडाैँ । सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका-१ का वडाध्यक्ष राम मानन्धरका कारण रोकिएको छ । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदूरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो । मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाइरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ ।
मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडाैँ उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन शाफ्टको काम सकिने अन्तिम तयारीमा थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नू भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।
प्रकाशित मिति : July 14, 2019 at 6:52 pm









