६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

उच्च मनोबलसहित उद्धार कार्यमा परिचालित हुन सशस्त्र प्रहरी प्रमुख खनालको निर्देशन

२८ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले कुनै पनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोबलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिँदै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामाग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्नसमेत भनेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका एपीएफ एकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट लाइभ भिडियो स्ट्रीमिङ तथा सशस्त्र प्रहरी सञ्चार मार्फत शुक्रबार प्रत्यक्ष सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । कुनै पनि प्रकारको विपद् प्रकोप भएमा उद्धार कार्यमा शिघ्र परिचालित हुनुपर्ने आवश्यकता औल्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘कुनै प्रकारको विपद् भएमा सम्पूर्ण एपीएफ एकाईका प्रमुखहरुले एपीएफ टोली छिटोभन्दा छिटो परिचालन गर्नु होला, त्यसो भएमा पीडितलाई उद्धार गर्ने कार्यमा सफलता प्राप्त हुन सघाउ पुग्दछ ।’

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडि बढ्न निर्देशन दिँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार क्षमता अभिवृद्धि गर्नेतर्फ पहल भइरहेको बताउँँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं तिनका सन्तति तथा आमनागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको एपीएफ अस्पतालाई स्तरोन्नति गर्दै सात वटै प्रदेशमा समेत क्रमिक रुपमा अस्पताल स्थापना गर्दै लगिने बताएका छन। उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै हाल पहिलो चरणमा प्रदेश नम्बर २ को सप्तरी जिल्लामा नेपाल एपीएफ स्कुलको स्थापनाको सुरुवात भइसकेको तथा आगामी दिनमा सात वटै प्रदेशमा एपीएफ स्कुलको स्थापना गरी सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं स्थानीय जनताका सन्ततीहरुलाई स्तरीय शिक्षा प्रदान गरिने बताए ।

प्रकाशित मिति : July 13, 2019 at 12:05 pm