५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राज्यमन्त्री बाँस्कोटाले गरे १० लाखकाे शैक्षिक अक्षयकोषको शुभारम्भ

१ वैशाख काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन् ।आज काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उनले सो कोषको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय सहयोग पुग्ने विचार व्यक्त गरे ।

उनले यस वर्ष सरकारले नागरिक उत्तरदायित्व अभियानअन्तर्गत एक जनाले आफ्नो परिवारबाहेक एक जना व्यक्तिलाई पढ्नमा सहयोग गर्नुपर्ने अभियान चलाएको बताउँदै त्यसमा सबैले सहयोग गर्न आग्रह गरे ।

कोषबाट जिल्लाका गरीब, जेहेन्दार र पिछडिएका समुदायका विद्यालयस्तरका विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १५:२६