६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

क्यान्सरविरूद्ध सशस्त्र प्रहरी परिवार महिला संघको सचेतना कार्यक्रम

२५ असार, काठमाडाैँ । सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बुधबार क्यान्सर सम्बन्धी एक दिने सचेतना कार्यक्रम संचालन भएको छ । सो संघद्वारा क्यान्सर काउन्सिल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा सो संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी कर्मचारीहरु तथा सशस्त्र प्रहरी कर्मचारीका परिवारजनको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुर्तीजन्य पदार्थबाट हुने क्यान्सर रोग, रोगको लक्षण तथा रोकथामको उपाय सम्बन्धमा जानकारी गराइएको थियो । कार्यक्रममा बीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले क्यान्सर रोग, रोगको कारण, यसको रोकथामको उपाय तथा उपचार लगायतका विविध विषयमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलन्द्र खनालले एपीएफ एकाइहरुमा मदिरा तथा सुर्तीजन्य पदार्थमा रोक लगाईएको उल्लेख गर्नुहुँदै यस्ता पदार्थ सेवनबाट हुने हानी नोक्सानी तथा सेवन गर्न नहुने कारणसहितको सूचना बनाई देखिने गरी राख्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।

यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी सदस्य सचिव सरस्वती पाण्डेले संघले सेवामुखी हातहरुलाई विभिन्न सेवामुखी कार्यमा उपयोग गर्दै आईरहेको बताउनुहुँदै यस किसिमको सचेतना कार्यक्रमले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा चेतना अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उपसचिव पुष्करराज नेपालले सूर्तीजन्य पदार्थको सेवन गर्न नहुने स्थान, बिक्रिबितरण तथा कानूनी दायराका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो ।

सो सचेतना कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत सो संघका पदाधिकारीहरुको उपस्थित रहेको थियो । यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल, क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरिया लगायत एपीएफ अधिकृत तथा बिल्लादार जवानहरु एवं उनीहरुका परिवारजनको समेत उपस्थिती रहेको थियो । सशस्त्र प्रहरीको प्रेस शाखाले तयार पारेको समाचार

 

प्रकाशित मिति : 23:11