६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अब एक घर, एक धारा, खानेपानीको अभाव नहुने

२५ असार, बागलुङ ।  एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’को काम तीव्र गतिमा भइरहेको छ । सङ्घीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ । दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बास्तोला निर्माण सेवाले आयोजना निर्माणको काम गरिरहेको छ ।

समितिका अध्यक्ष रुमबहादुर कुँवरका अनुसार २० घनमिटरको एउटा र १०÷१० घनमिटरका दुई वटा ट्याङ्की बनिसकेका छन् । “५० घनमिटरको अर्को ट्याङ्की निर्माणाधीन छ” उहाँले भन्नुभयो, “अहिलेसम्म २३ सय मिटर पाइपलाइन विछ्याइएको छ ।” ट्याङ्की निर्माण र पाइप विछ्याउने काम धमाधम भइरहेको उहाँको भनाइ छ । आवश्यकता अनुसार थप ट्याङ्की निर्माण हुनेछन् ।

सिङ्गो वडाभरि रहेका पानीका मुहानलाई केन्द्रित गरी आयोजनामार्फत घर÷घरमा वितरण गरिनेछ । केही ठाउँमा मुहानको कामसमेत सकिएको छ । आयोजना बनेपछि वडाका ६५० घरधुरीमै खानेपानीको सहज पहुँच पुग्ने वडाध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो । “आयोजनाले एक घर, एक धाराको लक्ष्य पूरा गर्छ” उहाँले भन्नुभयो, “कामले गति लिएको हुँदा आयोजना समयमै पूरा हुनेमा हामी विश्वस्त छौँ ।”
सङ्घीय सरकारको बहुवर्षीय योजना अन्तर्गत रहेको आयोजनाको लागत थप बढ्नसक्ने जनाइएको छ । बजेटका कारण काममा ढिलाइ हुने अवस्था नरहेको समितिका अध्यक्ष कुँवरले बताउनुभयो । निर्माणको चरणमा भइरहेको कामको जाँच तथा अनुगमनको लागि सरकारी निकायबाट इञ्जिनीयर खटिएका छन् ।

खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी आयोजना शुरु भएपछि हर्षित छन् । गाउँलाई लक्षित गरी ठूलो खानेपानी आयोजना सञ्चालन हुनु वडाकै लागि गर्वको विषय भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । आयोजना बनेपछि वडाका सबै बस्तीमा खानेपानीको सहज सुविधा पुग्नेछ ।

प्रकाशित मिति : 20:10