६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मैलुङ–स्याफ्रु सडकको ठाउँठाउँमा पहिरो, मालबाहक सवारी बीचमै अड्किए

२४ असार, काठमाडाैँ । अविरल वर्षाका कारण मैलुङ–स्याफ्रु सडकको ठाउँठाउँमा पहिरो गएको छ । बाढीले बगाएर सोमबारमात्र मर्मत गरेर सञ्चालनमा ल्याइएको सडकमा फेरि सोमबार रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । रसुवाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले पहिरो सफा गरेपछिमात्र सडक सञ्चालनमा अाउने बताए ।

त्यसैगरी पहिरोको कारण सोमबार रातिदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक भने खुलेको छ । सडक खण्डको तातोपानी क्षेत्रमा गएको पहिरो पन्छाएसँगै सडकमा सवारी सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन ।

यसअघि सोमबार नै  वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न वेत्रावती–मैलुङ–स्याफ्रुबेसी राजमार्ग क्षेत्रको भूभागमा रातको समयमा सवारी साधन सञ्चालन नर्गन/नगराउन स्थानीय प्रशासनले आग्रह गरेको थियो । वर्षासँगै आएको भलपानीले नयाँ राजमार्गका ठाउँ ठाउँमा सडक अवरुद्ध गर्न थालेको र मानव बस्ती नभएको क्षेत्रमा राति सवारी साधन गुडाउँदा आकस्मिक रूपमा पर्न सक्ने समस्या हल गर्न गाह्रो पर्ने भएकाले रातको समयमा कुनै पनि सवारी साधन नगुडाउन आग्रह गरिएको प्रजिअ अर्जुन भण्डारीले बताउनुभयो ।

वेत्रावतीदेखि स्याफ्रुबेशीसम्म २९ किमीमध्ये मैलुङ–स्याफ्रुबेसी खण्डको १७ किमी राजमार्गअन्तर्गतका खोल्सामा पानी परेको बेला भलपानीको बहाव बढी हुने भएकाले सावधानीपूर्वक दिनको समयमा मात्र सवारी साधन गुडाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नयाँ राजमार्गका ठाउँठाउँमा पुल, नाली, टेवापर्खाल, कालोपत्रजस्ता गरी छिट्टै बाह्रै महीना सवारी साधन गुड्ने वातावरण बनाउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक सुधार आयोजनासमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् । केही दिनअगाडि देखिको वर्षाले अवरुद्ध गरेको मैलुङ–स्याफ्रु खण्डको उक्त सडकमा आएको अवरोध आमाछोदिङ्मो गाउँपालिका–१ को सहयोगमा हटाएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो । मैलुङ खण्डको राजमार्गमा अवरोध हुन थालेपश्चात् अधिकांश सवारी साधनका चालकले वेत्रावती, धुञ्चे हुँदै स्याफ्रुबेसी खण्डको पासाङल्हामु राजमार्ग प्रयोग गर्न थालिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:04