७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

तराईका तीन जिल्ला डेंगुको जोखिममा


२८ चैत, झापा । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । महाशाखाका अनुसार तेस्रो जोखिमको जिल्ला महोत्तरी हो । त्यहाँ गत वर्ष ४३८ जनामा डेंगु भेटिएको थियो ।

महाशाखाका डा विवेककुमार लालका अनुसार डेंगुका कारण गत वर्ष झापासहित तीन जिल्लामा तीन जनाको मृत्यु भएको थियो । समयमा उपचारका लागि नगएका कारण चितवन, रुपन्देही र झापामा डेंगु संक्रमित तीन जनाको मृत्यु भएको उनले बताए । डेंगुका कारण झापाको अर्जुनधारा–७ की ३२ वर्षीया सुनिता बरालले ज्यान गुमाएकी थिइन् ।

“एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिन सक्ने लालले बताए । कुनै व्यक्तिलाई कुनै व्यक्तिमा दोस्रो पटक डेंगु देखिन्छ भने त्यो अलि बढी खतरनाक हुन्छ । डा लालले डेंगु संक्रमण उच्च देखिएका जिल्लामा सचेतनामूलक कार्यक्रम शुरु गरिएको बताए ।

डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।

नेपालमा विसं २०६१तिर पहिलो पटक चितवनमा विदेशी पर्यटकमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् ।
विसं २०६७÷०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रुपमा डेंगु फैलिएको थियो । चितवनमा मात्रै ७३९ जना संक्रमित भेटिएका थिए ।
गत वर्ष झापामा भेटिएका अधिकांश संक्रमित बिर्तामोड क्षेत्रका रहेको जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले बताए । “डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै भएको जानकारी दिए ।

गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिजलगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्छ । लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने महाशाखाले जनाएको छ ।

केही दशकदेखि विश्वभर डेंगु संक्रमण बढ्दै गएको छ । “बितेको ५० वर्षमा यसको संक्रमण ३० गुणाले बढेको डा लालले जानकारी दिए । विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छ ।” प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गर्छ । त्यसमध्ये हरेक वर्ष २० हजार मानिसले ज्यान गुमाइरहेका छन् ।रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ०९:१७