७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

२० परिवारको १५ बिगाहाभन्दा बढी जमिन भारतमा परेको देखाइए पछि स्थानीय चिन्तित


२७ चैत, कञ्चनपुर । नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका २० परिवारको १५ बिगाहाभन्दा बढी जमिन भारतमा परेको देखाइएपछि स्थानीय चिन्तित भएका छन् ।

भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन भारतमा परेको छ । उक्त क्षेत्रमा सीमा नक्सांकन गरिएको छ ।

कम्बोजनगर एसएसबीको चौकी नजिकको ३४ नम्बर सीमा स्तम्भभन्दा ३० मिटर उता नै जमिन थियो, पहिला त्यहाँ खल्ला थियो स्थानीय पन्तले भने अहिले त खल्ला हुँदै नेपालतिर ल्याएर यताको जमिन उता पारिएको छ ।

साविक ३४ नम्बर सीमा स्तम्भको सट्टा नयाँ ७८२ नम्बरको सीमा स्तम्भमा सूचना टाँस गरिएको छ । यसले केही परिवार घरबारविहीन हुने अवस्थामा पुगेका छन् ।

यसअघि कम्बोजनगर एसएसबी पोष्टका सुरक्षाकर्मी सो जमिनमा गस्तीका क्रममा समेत नआएको स्थानीय बताउँछन् ।
स्थानीयले दर्ता जमिन नकाटेर साविक कायम हुनुपर्ने माग अघि सारेका छन् । तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा उनीहरुलाई सीमा क्षेत्रमा बसाएका थिए ।

नेपाल भारतबीच जोडा र बेजोडा सीमा स्तम्भ मर्मत गर्ने सहमति विगतमा गरिएको थियो । त्यसअनुसार भारतको भागमा जोडा र नेपालले बेजोडा सीमा स्तम्भ मर्मत गर्ने छ । गत वर्ष सीमा विवादमा पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा स्थानीय गोविन्द गौतमको ज्यान समेत गएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १०:३२