४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

काठमाडौँमा एकाबिहानै भीषण हावाहुरी 

२४ जेठ, काठमाडौँ । काठमाडौँमा शुक्रबार बिहानै हावाहुरी आएको छ । बिहान ५ बजेदेखि ६ बजेसम्म हावाहुरी चलेको हो । सँगसँगै सामान्य वर्षासमेत भएको छ । बिहीबार साँझ हावाहुरीले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको खबरहरु आइरहँदा काठमाडौँमा पनि हावाले जनजीवन प्रभावित बन्न पुगेको हो ।

बिहानै ठूलो हावाहुरी र पानी परेको काठमाडाैँमा सात बजेपछि भने मौसम खुलेको छ । तर एकछिन मौसम खुले पनि फेरि हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाडाैँ उपत्यकासहित मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा यही प्रणालीको असरले तीव्र गतिको हुरीबताससहित पानी परेको हो ।

यही प्रणाली आइपुगेकाले बिहानै उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा तीव्रगतिको हुरीबताससहित पानी परेको थियो । अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वमा पनि हुरीबतास चल्ने मौसमविद् सुवास रिमालको अनुमान छ । उहाँका अनुसार शुक्रबार मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन ।

 

 

प्रकाशित मिति : 07:37