रसुवागढी नाकामा निर्माण गरिएको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा
२३ जेठ, रसुवा । रसुवागढी नाकामा निर्माण गरिएको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पाँच महिनामा पुल निर्माण सम्पन्न गरेको हो । पुलको पुनर्निर्माण सकिएसँगै बिहीबारदेखि सवारी साधन वारवार गरिएको प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्काले बताउनुभयो । पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको हो ।

मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति भएपछि त्यसै ठाउँमा नयाँ पुल निर्माण गरिएको हो । पुनर्निर्माण भएको पुल पहिले रहेको पुलभन्दा ५ मिटर उत्तरपूर्वतिर सरेको छ । याे पुलकाे निर्माण गएकाे सेप्टेम्बरमा सुरु गरेर २०१९ मे महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । पुलको लम्बाइ ११० मिटर र चौडाइ ९ मिटर रहेको छ । पुनर्निर्माणका लागि गत जुन २१ तारिखमा सम्झौता भएको थियो ।
मितेरी पुल चीन सरकारको सहयोगमा सिन्धुपाल्चोक र रसुवामा निर्माण गरिएको हो ।
प्रकाशित मिति : 19:22









