४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

धरौटी तिर्न नसकेपछि विप्लव समूहका चार कार्यकर्ता जेल चलान

२३ जेठ, काठमाडौँ । नेत्रविक्रम चन्द समूहका चार कार्यकर्तालाई बिहीवार कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

नक्कली बम बनाएर आतङ्क मच्चाउनुका साथै एनसेल टावर आक्रमण र चन्दा असुलेको उनीहरुमाथि आरोप छ । पक्राउ परेका चारै जनासँग प्रति व्यक्ति रु चार लाख २० हजारका दरले धरौटी माग गरिएको र सो रकम बुझाउन नसक्दा उनीहरुलाई थुनुवा पूर्जी दिएर कारागार चलालन गरिएको आचार्यले बताए ।

फाइल फाेटाे

कारागार चलान गरिनेमा चन्द समूहका जिल्ला इञ्चार्ज रहेका पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–१ का २९ वर्षीय गोविन्द ओली, वालिङ नगरपालिका–२ का ५० वर्षीया मिसिरा नेपाली र भीरकोट नगरपालिका–२ का ४७ वर्षीय सागर अर्याल रहेका छन् ।

उनीहरुमाथि गत फागुन १० गते वालिङ नगरपालिका–१२ स्थित एनसेल टावरमा आक्रमण गरेको तथा गत फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा बम राखेको आरोप लागेको छ ।

प्रकाशित मिति : 19:10